सिड्नी। सिड्नी सहरको केन्द्रबाट लगभग ५० किलोमिटर परको मार्सडन पार्क। यो यस्तो बस्ती हो जहाँ नेपालीको बसाइ बाक्लो छ। अस्ट्रेलियामा रोचक के छ भने, मार्सडन पार्क जस्ता नयाँ बस्ती जति बसालिन्छन्, त्यहाँ त्यहाँ नेपाली पुग्छन् नै।
मार्सडन पार्कमा करिब दुई सय घर नेपालीको छ। यो संख्या बढ्दो छ। यसको सीधा सन्देश हो, नेपाली समुदाय बलियो बन्दैछ। समुदायलाई बलियो बनाउने तरिका अनेक छन्। मार्सडन पार्कमा भने फुटबललाई माध्यम बनाइँदैछ। र, यसको अगुवा हो, मार्सडन गोर्खा एफसी (एमजिएफसी)।
एमजिएफसीको कथा नवीन छैन, बरु अरु फुटबल क्लबहरुकै जस्तै हो। सुरुमा चार पाँच जना साथी मिलेर खेल्दा खेल्दै जन्मिएको क्लब हो यो। उद्देश्य पनि उही फुटबल र सामाजिक क्रियाकलाप। कुरा यत्ति हो, एमजीएफसी आफ्नो उद्देश्यमा दृढ छ।
एमजिएफसी स्थापना भएको गत वर्ष मात्र हो। यो एक वर्षमा करिब ६० खेलाडी भेला भइसकेका छन्। तीमध्ये करिब आधा प्रत्येक प्रत्येक बिहीबार र शुक्रबार मार्सडन पार्कको फुटबल मैदानमा भेला हुन्छन्। अभ्यास गर्छन्, मैत्रीपूर्ण खेल खेल्छन्।
‘सुरुमा त हामी पाँच छ जना मात्र थियौँ। रमाइलोका लागि फुटबल खेलिन्थ्यो। चिनजान बढ्दै गयो। पछि फुटबलबाटै समुदायका लागि केही गर्न सकिन्छ कि भन्ने सोच पलायो। सोच अभियानमा बद्लियो,’ एमजीएफसीका कप्तान प्रज्वल डेभाजु विगत सम्झिन्छन्।